एआइटीमा प्रधानमन्त्रीकाे सम्बोधन- मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक
काठमाडाैं | चैत २१, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास हुन आवश्यक रहेको बताउनुभएको छ ।
थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओलीले मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताउनुभयो ।
उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको व्याख्या गर्दै मानवीय चाहनासहितको खुसीभन्दा अर्काे ठूलो कुरा नभएको धारणा व्यक्त गर्नुभयो ।
जलवायु परिवर्तनलगायत विश्वव्यापी रुपमा रहेका साझा मुद्दा सम्बोधनका लागि राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी रुपमा समेत संयुक्त प्रयास हुनुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वसमुदायसँग आह्वान पनि गर्नुभयो ।
नेपाली अध्यापक र विद्यार्थीसहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आधुनिक कृषिको विकास र २१औँ शताब्दीको मानवनीय जनशक्तिको उत्पादनमा जोड दिँदै एआइटीबाट उत्पादिन जनशक्तिले नेपालको जलस्रोतलगायत विकासका क्षेत्रमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले एआइटीले नेपालमा खोज, अध्ययन र छात्रवृत्तिका लागि स्थापना गरेको कोषमा एक लाख अमेरिकी डलर रकम जम्मा गर्ने घोषणा पनि गर्नुभयो ।
थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले उक्त संस्थामा बढी विदेशी विद्यार्थी अध्ययन गर्ने हिसाबले नेपाल चौथो स्थानमा रहेको र एआइटीसँगको सहकार्य आफूहरुको प्राथमिकतामा परेको बताउनुभयो ।
एआइटीमा अहिले १८१ नेपाली विद्यार्थी अध्ययनरत छन्भने हालसम्म एक हजार ७९५ नेपाली विद्यार्थीले अध्ययन पूरा गरेका छन् ।
अहिले यस संस्थाको ‘बोर्ड अफ ट्रष्टी’मा तीन सदस्यसहित सातजना ‘फ्याकल्टी मेम्बर’ नेपाली रहेका छन् ।
प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको टोलीलाई सो संस्थाका ‘प्रेसिडेन्ट’ प्रा पाई ची लीसहितले स्वागत गर्नुभएको थियो ।
थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्को मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले पहिलो थाइल्याण्ड भ्रमण गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले आजै बिम्स्टेक सम्मेलनमा सहभागी सदस्य मुलुकका राष्ट्र प्रमुख तथा सरकारप्रमुखसँग ‘साइडलाइन’ भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक÷विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत हुनुहुन्छ ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

